
काठमाडौं । बिरामी, सेवाग्राही तथा शुभेच्छुकहरूको आवाजलाई थप प्रभावकारी रूपमा सुन्ने र त्यसको सम्बोधन सुनिश्चित गर्ने उद्देश्यसहित एभरेस्ट अस्पताल, नयाँ बानेश्वरले ‘डिजिटल सुझाव पेटिका’ सञ्चालनमा ल्याएको छ।
आधुनिक प्रविधिमा आधारित यो प्रणालीमार्फत सेवाग्राहीहरूले आफ्ना सुझाव, गुनासा, अनुभव तथा प्रशंसाहरू सहज रूपमा अस्पतालसम्म पुर्याउन सक्नेछन्। विशेषता के छ भने, सुझाव दिने व्यक्तिले आफ्नो प्रतिक्रिया अस्पताल प्रशासनले प्राप्त गर्यो कि गरेन, त्यसको अध्ययन भयो कि भएन र सम्बोधनका लागि के–कस्ता कदम चालिए भन्ने जानकारीसमेत प्रत्यक्ष रूपमा हेर्न सक्नेछन्।
अस्पतालका अनुसार स्वास्थ्य सेवा केवल उपचारमा मात्र सीमित हुँदैन, यो विश्वास, संवाद र निरन्तर सुधारसँग पनि उत्तिकै जोडिएको विषय हो। यही मान्यतालाई आत्मसात गर्दै बिरामी तथा सेवाग्राहीका अनुभव र सुझावलाई संस्थागत सुधार तथा सेवा गुणस्तर अभिवृद्धिको महत्वपूर्ण आधार बनाउने लक्ष्यसहित डिजिटल सुझाव पेटिका सञ्चालनमा ल्याइएको हो।
अस्पताल प्रशासन प्रमुख दीपक चन्द्र बरालले बिरामीको उपचारसँगै उनीहरूको आवाज सुन्नु पनि संस्थाको महत्वपूर्ण जिम्मेवारी भएको बताए। उनका अनुसार प्राप्त हुने प्रत्येक सुझावलाई सुधारको अवसरका रूपमा लिइनेछ।
“डिजिटल सुझाव पेटिकाले अस्पताल र सेवाग्राहीबीचको दूरी घटाउँदै पारदर्शी, उत्तरदायी र सहभागितामूलक सेवा संस्कृतिको विकासमा महत्वपूर्ण भूमिका खेल्नेछ,” बरालले भने।
अस्पतालले प्राप्त सुझावहरूको नियमित विश्लेषण गरी सेवा गुणस्तर सुधार, बिरामीमैत्री वातावरण निर्माण तथा संस्थागत विकासका कार्यक्रमहरूमा उपयोग गर्ने जनाएको छ।
‘सुझाव दिनुहोस्, परिवर्तन देख्नुहोस्’ भन्ने मूल नारासहित सुरु गरिएको यो अभियानले स्वास्थ्य क्षेत्रमा नागरिक सहभागिता र जवाफदेहिताको नयाँ अध्याय सुरु गर्ने विश्वास अस्पतालले व्यक्त गरेको छ।

प्रतिक्रिया