
काठमाडौं । नेपाली लोकसंगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल लोकप्रिय गायक कुलेन्द्र विश्वकर्मा को नयाँ गीत ‘सानो मन नगर दिल फुकाउ’ सार्वजनिक भएको छ। गीतको अडियो तथा म्युजिक भिडियो कुलेन्द्र विश्वकर्माको आधिकारिक युट्युब च्यानलमार्फत दर्शक तथा श्रोतामाझ ल्याइएको हो।
प्रेम, विश्वास र आत्मीय सम्बन्धको भावनालाई समेटिएको गीतमा कुलेन्द्र विश्वकर्मासँगै चर्चित गायिका मेलिना राई को सुमधुर स्वर रहेको छ। गीतका शब्द नवराज पन्त ले लेखेका हुन् भने संगीत बसन्त थापा ले भरेका छन्।
गीतको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ एचबीएन किस्मतले गरेका छन् भने रेकर्डिङ राज खड्काले गरेका हुन्। गीत वान डिबी एचडी स्टुडियोमा रेकर्ड गरिएको हो।
म्युजिक भिडियोमा कुलेन्द्र विश्वकर्मा स्वयं र जुना सुन्दास को आकर्षक अभिनय देख्न सकिन्छ। गीतको भाव र कथावस्तुलाई जीवन्त रूपमा प्रस्तुत गरिएको भिडियोको छायाङ्कन बिवेक बि.के. ले गरेका छन् भने सम्पादन तथा रङ संयोजन अमृत चापागाईंले गरेका छन्। भिडियोको निर्देशन तथा कोरियोग्राफी एकेन्द्र सरशंकरले गरेका हुन्।
कुलेन्द्र विश्वकर्मा र बसन्त थापाको सहकार्य नेपाली लोकसंगीत क्षेत्रमा सफल र चर्चित मानिन्छ। यसअघि उनीहरूको सहकार्यमा सार्वजनिक भएको चर्चित गीत सालको पात टपरी हुने ले अपार लोकप्रियता कमाएको थियो। लामो अन्तरालपछि यही सफल जोडी ‘सानो मन नगर दिल फुकाउ’ मार्फत पुनः एकसाथ आएका कारण गीतप्रति दर्शक तथा श्रोताको विशेष चासो देखिएको छ।
प्रेम र आत्मीय सम्बन्धको भावनालाई सरल तर प्रभावकारी ढंगले प्रस्तुत गरिएको ‘सानो मन नगर दिल फुकाउ’ उत्कृष्ट शब्द, संगीत र प्रस्तुतीकरणका कारण श्रोताको रोजाइमा पर्ने विश्वास गरिएको छ ।
गायक कुलेन्द्र विश्वकर्मा ले यस गीतका लागि आफूले गायनसँगै म्युजिक भिडियो निर्माण र छायाङ्कनको क्रममा पनि निकै मेहनत गरेको बताए। गीतको विषयवस्तु, संगीत र प्रस्तुतीकरणप्रति आफू पूर्ण रूपमा विश्वस्त रहेको उनको भनाइ छ।
उनले दर्शक तथा श्रोताबाट प्राप्त भइरहेको सकारात्मक प्रतिक्रियाले थप उत्साहित बनाएको उल्लेख गर्दै ‘सानो मन नगर दिल फुकाउ’ सबै संगीतप्रेमीको मन छुने विश्वास व्यक्त गरेका छन्। गीतमा समावेश प्रेम, विश्वास र आत्मीय सम्बन्धका भावनाले सबै उमेर समूहका दर्शक तथा श्रोतासँग सहज रूपमा सम्बन्ध स्थापित गर्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया