
काठमाडौं । नेपाली भाषा, कला र संस्कृतिलाई विश्वभर रहेका नयाँ पुस्तासम्म जोड्ने उद्देश्यसहित सञ्चालनमा आएको डिजिटल स्कुल ‘पहिलो पाइला’ एपले औपचारिक शुभारम्भसँगै व्यापक चर्चा पाएको छ । देश – विदेशमा जन्मिएका तथा हुर्किएका नेपाली बालबालिकालाई सहज र आधुनिक माध्यमबाट घर मै बसी बसी पनि नेपाली भाषा सिकाउने लक्ष्यसहित ल्याइएको यो एपको ब्राण्ड एम्बास्डरमा लोकप्रिय अभिनेत्री केकी अधिकारी अनुबन्ध भएकी छन् ।
राजधानीमा आयोजित विशेष कार्यक्रममा वरिष्ठ शिक्षाविद् सुशिलभक्त माथेमा, वरिष्ठ गायिका लोचन भट्टराई, वरिष्ठ कवि तथा गीतकार आनन्द अधिकारी र अभिनेत्री केकी अधिकारीले संयुक्त रूपमा ‘पहिलो पाइला’ एप सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा बोल्दै अभिनेत्री केकी अधिकारीले नेपाली भाषा र संस्कृतिलाई नयाँ पुस्तासँग जोड्ने यो अभियानलाई “युग परिवर्तनको क्षण” को संज्ञा दिँदै, प्रविधिको माध्यमबाट नेपाली मौलिकताको संरक्षणमा एपले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन् । विदेशमा बसोबास गर्ने नेपाली समुदायमा भाषा र संस्कृतिसँगको दूरी बढ्दै गएको अवस्थामा ‘पहिलो पाइला’ ले नेपालीपनलाई जीवन्त राख्ने पुलको काम गर्ने उनको भनाइ थियो ।
आयोजक संस्था पहिलो पाइला एजुकेसन का अनुसार विश्वस्तरीय पाठ्यक्रमसहित निर्माण गरिएको डिजिटल स्कुलमार्फत बालबालिकाले आफ्नो रोजाइअनुसार नेपाली भाषा, संस्कार र संस्कृतिका विभिन्न विषय सिक्न सक्नेछन् ।मधु न्यौपाने ले डिजिटल शिक्षामार्फत नेपाली भाषा विश्वभर फैलाउने लक्ष्य रहेको बताए ।
कार्यक्रमका प्रमुख अतिथि शिक्षाविद् सुशिलभक्त माथेमाले “भाषा हराए संस्कृति हराउँछ, संस्कृति हराए अस्तित्व हराउँछ” भन्दै भाषा, भेषभूषा, कला र परम्परा कुनै पनि समुदायको पहिचानको मुख्य आधार भएको उल्लेख गरे । त्यस्तै वरिष्ठ गायिका लोचन भट्टराईले नेपाली भाषा र संस्कृतिमाथि बढ्दो प्रभावलाई रोक्न बालबालिकाबाटै सिकाइ सुरु गराउनुपर्ने आवश्यकता औँल्याउँदै ‘पहिलो पाइला’ अभियानलाई महत्वपूर्ण कदमको रूपमा व्याख्या गरिन् ।
विश्वभर फैलिएको नेपाली समुदायका बालबालिकालाई आफ्नै भाषा, संस्कृति र मौलिक पहिचानसँग भावनात्मक रूपमा जोड्ने लक्ष्य बोकेको ‘पहिलो पाइला’ अब डिजिटल माध्यममार्फत नेपालीपन जोगाउने नयाँ अभियानको रूपमा अगाडि आएको छ ।

प्रतिक्रिया