
नेपाली संगीत क्षेत्रमा आफ्नो अलग पहिचान स्थापित गर्न सफल लोकप्रिय गायक अर्जुन सापकोटा का लागि महत्वपूर्ण जिम्यवारी थपियको छ ।
चर्चित सांगीतिक रियालिटी शो The Voice Kids मा कोचको भुमिका निर्वाह गर्ने भए संगै उनका शुभचिन्तक, दर्शक तथा संगीतप्रेमीहरूमा उत्साह , खुशी र नेपाली सांगीतिक क्षेत्रमा एक तरङ्ग नै पैदा भएको छ।
लामो समयदेखि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर सक्रिय रहेका अर्जुन सापकोटाले आफ्नो मिठो स्वर, मेहनत, संघर्ष र दर्शकप्रतिको आत्मीयतामार्फत लाखौँ नेपालीको मन जित्न सफल भएका छन् । लोकदोहोरी, आधुनिक तथा भावनात्मक गीतमार्फत उनले नेपाली संगीत क्षेत्रमा छुट्टै छाप छोडेका छन् ।
उनले गाएका धेरै गीतहरू अहिले पनि दर्शक–श्रोतामाझ अत्यन्त लोकप्रिय छन् ।
अब The Voice Kids जस्तो प्रतिष्ठित मञ्चमा उनले बालप्रतिभालाई संगीतको सही मार्गदर्शन गर्ने, उनीहरूको प्रतिभालाई उजागर गर्ने तथा नयाँ पुस्तालाई प्रेरणा दिने महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएका छन् ।
संगीतप्रतिको उनको समर्पण, सरल स्वभाव र दर्शकसँगको आत्मीय सम्बन्धका कारण पनि उनलाई यो जिम्मेवारीका लागि उपयुक्त व्यक्तित्वको रूपमा हेरिएको छ ।
यो सफलता केवल व्यक्तिगत उपलब्धि मात्र नभई नेपाली संगीत क्षेत्रकै लागि गर्वको विषय बनेको धेरैले बताएका छन् । वर्षौँदेखिको संघर्ष, निरन्तर मेहनत र दर्शकको मायाले उनलाई आज यो उचाइसम्म पुर्याएको संगीतकर्मीहरूको भनाइ छ ।
सामाजिक सञ्जालमा पनि उनलाई बधाई तथा शुभकामना दिनेहरूको संख्या उल्लेखनीय रूपमा बढिरहेको छ । धेरैले सापकोटाको यो सफलता नेपाली संगीत क्षेत्रकै सम्मान हो” भन्दै खुसी व्यक्त गरिरहेका छन् ।
यता फेसबुकमा अर्जनु लेख्छन् ।
सानैदेखि मेरो संसार भन्नु नै सङ्गीत रह्यो । यो सङ्गीतको महासागरमा मैले सधैँ हाम्रो लोक सङ्गीतलाई नै आफ्नो अस्तित्व मानेको छु । The voice kids को Coach को रूपमा यो कुर्सीमा बसेर हाम्रो त्यही मौलिकता र लोक सङ्गीतलाई प्रतिनिधित्व गर्न पाउँदा एकदमै भावुक छु । स-साना बाबुनानीहरूको आवाजसँगसँगै बसेर उनीहरूलाई डोर्याउन पाउनु मेरा लागि एउटा ठूलो सौभाग्य हो भने अर्कोतिर थोरै डर पनि छ कि यो ठूलो जिम्मेवारीलाई मैले कत्तिको न्याय गर्न सक्नेछु । तर मलाई थाहा छ, मेरो पछाडि मेरो एउटा ठूलो परिवार हुनुहुन्छ, त्यो भगवानरुपी दर्शकहजुरहरु नै हो । हजुरहरूले मलाई सधैँ एउटा कलाकार मात्र होइन, आफ्नै परिवारको सदस्य मानेर माया गरिदिनुभएको छ। कतै गल्ती गर्दा सम्झाइदिनुभएको छ, त कहिले हौसला दिएर यहाँसम्म डोर्याउनुभएको छ।
म त्यहाँ बस्दा म भित्रको त्यो सानो गाउँको केटोलाई पनि सँगै राख्नेछु, जसले रेडियोमा गीत सुन्दा सुन्दै कलाकार बन्ने सपना देखेको थियो । यो नयाँ यात्रामा पनि मलाई हजुरहरूको त्यही साथ र आशिर्वादको खाँचो छ । म एउटा सानो साधक भएर ती साना प्रतिभाहरूसँगै बसेर धेरै कुरा सिक्न र सिकाउन चाहन्छु । म वाचा गर्छु, मेरो सङ्गीत प्रतिको इमान्दारिता र यो नयाँ जिम्मेवारीलाई म पूर्ण निष्ठाका साथ पुरा गर्नेछु ।

प्रतिक्रिया